प्रदेशसभा सदस्यहरुको सपथ आज हुँदै, कुन प्रदेशको कहाँ ?


 


काठमाडौं, माघ ७
प्रदेशसभा सदस्यहरुको सपथ आज हुँदैछ । सातवटै प्रदेशसभ सदस्यहरुले आ–आफ्नो प्रदेशको अस्थायी राजधानीमा सपथग्रहण गर्दैछन् ।

प्रदेशसभा ऐनअनुसार सर्वप्रथम प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई सपथ खुवाउने र त्यसपश्चात जेष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ खुवाउने छन् । सपथका लागि प्रदेशसभा सदस्यहरु प्रदेशका अस्थायी राजधानीमा पुगिसकेका छन् ।

सपथ खुवाउने प्रदेश प्रमुख पनि राष्ट्रपतिबाट सपथ खाएकै दिन आफ्नो प्रदेशमा पुगिसकेका छन् ।

आयोगले माग २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको कार्यक्रम आजैदेखि सुरु गर्ने भएकाले सबै प्रदेशसभा सदस्यलाई आजै सपथ खुवाउनुपर्ने अवस्था छ । निर्वाचनका लागि आजै मतदाता नामावली सार्वजनिक गर्नुपर्नेछ ।

कुन प्रदेशको सपथग्रहण कहाँ ?
प्रदेश नंम्बर १ का प्रदेशसभा सदस्यको सपथग्रहण प्रादेशिक अस्थायी राजधानी विराटनगरमा हुँदैछ । वीरेन्द्र सभागृहमा बिहान १० बजेदेखि सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

प्रदेश नंम्बर २ का प्रदेशसभा सदस्यको शपथग्रहण अस्थायी राजधानी जनकपुरस्थित उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश नम्बर ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको सपथ हेटौडामा हुँदैछ । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा सदस्यमध्येका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराएर शपथको सुरुवात गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश नंम्बर ४ का प्रदेशसभा सदस्यहरुको सपथग्रहण साविकको नगर प्रशिक्षण कार्यालयमा गराइँदैछ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुको सपथग्रहण अस्थायी राजधानी बुटवलमा गराइदैछ । उमाकान्त झाले प्रदेश सदस्यलाई पद तथा गोपनियताको सपथ गराउनु हुने भएको छ ।

प्रदेश नम्बर ६ का प्रदेशसभा सदस्यलाई अस्थायी राजधानी सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा शपथ खुवाउने कार्यक्रम छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउनु हुनेछ ।

प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यहरुको सपथग्रहण प्रदेशको अस्थायी मुकाम तोकिएको धनगढी गराइने छ । जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा सपथग्रहणको कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्