महाकाली सन्धि कार्यान्वयन गर्न भारतलाई नेपालको आग्रह, के–के मा हुँदैछ सहमति ?


 


कञ्चनपुर, माघ ७

सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुर बाँधदेखि नेपालको सीमानासम्मको एक हजार २०० मिटर नहर बनाउन भारतीय पक्षलाई आग्रह गरिएको बताउनुभएको छ ।

आज टनकपुर बाँधको निरीक्षण गर्दै मन्त्री गौतमले २२ वर्ष अगाडि भएको महाकाली सन्धिअनुसार गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो ।

महाकाली सन्धिको धारा २ अनुसार टनकपुरमा पूर्वी एफलक्स बाँध निर्माण गर्न नेपाली भूमि प्रयोग गरेको बदलामा नेपालले ३०० क्युसेक पानी सुख्खायाममा र एक हजार क्युसेक पानी वर्षायाममा प्राप्त गर्ने कुुरा उल्लेख गरिएको भए पनि प्राप्त नभएको उहाँले बताउनुभयो ।


महाकाली नदीमा निर्माण भइरहेको पञ्चेश्वर परियोजनाको काम द्रुत गतिमा अगाडि बढाउन भारत सरकारसँग सहमति भइसकेको उहाँले बताउनुभयो । मन्त्री गौतमले पञ्चेश्वरबाट थप भएको पानी उपयोग गर्ने गरी नहरको संचरना निर्माण गरिने बताउनुभएको छ ।

मन्त्री गौतमले महाकाली सिँचाइ आयोजना तेस्रो तथा जनता तटबन्ध कार्यालयले गरेका कामको पनि निरीक्षण गर्नुभएको छ । उहाँले भीमदत्त नगरपालिका–११ भुजेलामा निर्माण भइरहेको बाँध र मोहना सिँचाइ आयोजनाको समेत निरीक्षण गर्दै छिटो काम गर्न निर्देशनसमेत दिनुभयो ।

निरीक्षणका दौरानमा निर्माण कम्पनीका ठेकेदारले छिटो काम सम्पन्न गर्नका लागि छिटो बजेट निकासा गर्नुपर्ने माग गरेका थिए ।

मन्त्रीसँगै सिँचाइ विभागका महानिर्देशक अशोक सिंह, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना प्रमुख इन्द्रदेव भट्ट, जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय कैलालीका प्रमुख रणबहादुर बम, जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्डदेव विष्ट, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडिई वीरसिंह धाँमीलगायतको निरीक्षणमा सहभागिता रहेको थियो । रासस

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्