पदावधि सकिनै लाग्दा मेलम्चीको खर्चमा विदेश जाँदै मन्त्री


 


काठमाडौं, माघ ६
मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् । कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा स्पेन जान लागेका हुन् ।

मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ ।

मन्त्रीको विदेश भ्रमणको चाँजोपाँजो भने मेलम्ची खानेपानी विकास समितिले मिलाएको हो । समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पनि मन्त्री यादवसँगै विदेश जान मन्त्रालयमा प्रस्ताव पठाएका थिए । तर उनको फाइल भने मन्त्रालयले रोकेको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीसँगै परामर्शदाता कम्पनी इप्टिसाका प्रतिनिधि पनि विदेश जाने योजनामा छन् । तालुक मन्त्रालयका मन्त्रीसँगै मेलम्ची खानेपानी सुरुङ निर्माण ठेकदार जानुलाई अस्वाभाविक र अर्थपूर्ण रुपमा हेरिएको छ ।

विभिन्न आयोजनामा तालुकवाला मन्त्री र उच्च अधिकारीलाई प्रभावित पारेर आफूअनुकूल निर्णय गराउन विदेश घुमाउन लैजाने पुरानै परम्परा हो ।

मन्त्रालयले कडाइ नगर्दा मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुनसकेको छैन । राजधानीवासीलाई पिउने पानी उपलब्ध गराउने राष्ट्रिय प्राथमिकताको मेलम्ची खानेपानी आयोजना निर्माण ठेकेदार कम्पनीले उच्च सरकारी अधिकारीसँगको मिलेमतोमा फाइदा लिँदै आएको छ ।

मन्त्रालय स्रोतका अनुसार आयोजनाको टनेल (सुरुङ) निर्माण जिम्मा पाएको इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले विभिन्न बहानामा अतिरिक्त भुक्तानी लिँदा पनि मन्त्रालयले रोक्न कुनै पहल गरेको छैन ।

कानुनी छिद्रको फाइदा उठाउँदै मेलम्ची खानेपानी विकास समिति, खानेपानी तथा सरसफाइ मन्त्रालयका उच्च अधिकारीसमेतको चलखेलमा अतिरिक्त भुक्तानी दिइएको हो । नागरिकमा खबर छ ।

प्रकाशित मिति: ६ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्