एमाले–माओबादी एकता निर्णायक मोडमा, को प्रधानमन्त्री र को पार्टी अध्यक्ष ?


 


काठमाडौं, माघ ६
एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो ।

एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ । अन्नपूर्णमा खबर छ ।

बैंककको नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका ओली र दाहालबीच शुक्रबार तीन घण्टा लामो छलफल यसै प्रक्रियालाई टुंग्याउनेमा केन्द्रित रह्यो ।

पार्टी एकता, राष्ट्रियसभा निर्वाचनमा कार्यदलले दिएको प्रतिवेदन र प्रदेश सरकार गठनका विषयमा ‘गहन र सकारात्मक’ छलफल भएको दुवै पक्षका नेताहरूले बताएका छन् ।

उच्च स्रोतका अनुसार ओली र दाहाल दुवै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरू सहमतिनजिक छन् ।

तर, माओवादी केन्द्रका केही नेताले भने प्रधानमन्त्रीमा ओली, पार्टीको सबै नेतृत्व लिने गरी दाहाललाई पार्टी अध्यक्ष बनाउनुपर्ने दबाब दिइरहेका छन् । ‘दुवैजना अध्यक्ष रहने र पदाधिकारीमा केही संख्या थपेर अघि बढ्ने पनि एउटा राम्रो विकल्पका रूपमा छलफल भइरहेको छ ।

एमाले नेता सुवास नेम्बाङ नेतृत्वको कार्यदलले राष्ट्रियसभा चुनावमा दुई दलबीच सिट बाँडफाँट गरी ओली र दाहाललाई बुझाएको थियो । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र तीमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिने गरी सहमति गरेको थियो ।

ओली बैंकक जानुअघि गठित उक्त कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरी टुंग्याउने समझदारी दुई नेताबीच भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । राष्ट्रियसभाका लागि माघ १० गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ ।

यस्तै, कार्यदलले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुखबारे तयार पारेको प्रतिवेदनमाथि पनि ओली र दाहालबीच कुराकानी भएको थियो । प्रदेश २ बाहेक अरू सबै प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले ६ वटा प्रदेशमा उनीहरूकै मुख्यमन्त्री र सभामुख निर्वाचित हुने अवस्था छ ।

माओवादी केन्द्रले २ र एमालेले ४ वटा प्रदेशको सरकारको नेतृत्व लिने र जसको जुन प्रदेशमा सरकार बन्छ, त्यो प्रदेशमा अर्को दलको सभामुख हुने गरी कार्यदलमा छलफल भएको थियो ।

पहिलो खाका
ओली र दाहाल दुवै अध्यक्ष
एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही थप्ने

दोस्रो खाका
प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल ।

प्रकाशित मिति: ६ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्