प्रदेश नम्बर ७ को प्रेदश प्रमुख र प्रदेशसभा भवनको टुङ्गो


 


धनगढी, माघ ५
धनगढीलाई प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकिएपछि धनगढीमा प्रदेश सभा भवन र प्रदेश प्रमुख कार्यालय र निवासको टुङ्गो लगाइएको छ ।

क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको बैठकले प्रदेश सभाभवन र प्रदेश प्रमुखको कार्यालय र निवासको टुंगो लगाएको हो ।

बैठकले जिल्ला समन्वय समिति कैलालीको सभाहललाई प्रदेशसभा भवन बनाइएको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले बताउनुभयो ।

उहाँले प्रदेश प्रमुखका सचिवालयको लागि उत्तरबेहडीस्थित घरेलु तथा साना उद्योगको कार्यालय र निवासका लागि एलएनचोकस्थित क्षेत्रीय वन निर्देशनालयको आवास गृहलाई टुङ्गो लगाइएको बताउनुभयो ।

यस्तै, प्रदेशसभा भवनको लागि जिल्ला समन्वय समितिको सभाहललाई बनाइएको छ । प्रदेशसभा भवनको टुंगो लगाइएको भएपनि ५३ जना प्रदेश सांसदहरुको सपथग्रहण भने पार्टी प्यालेसमा गरिने तयारी गरिएको छ ।

सभाहलमा अतिथी, पत्रकारसहितको ठूलो संख्या हुने भएकाले धनगढीको कुनै पार्टी प्यालेसमा सपथग्रहण गराउने गृहकार्य भने भइरहेको क्षेत्रीय प्रशासक पौडेलले बताए । यद्यपि, कुन पार्टी प्यालेसमा गरिने हो भन्ने कुरा भने खुलाइएको छैन ।

प्रदेश प्रमुखको सचिवालय र निवाससंगै प्रदेशसभा भवनको टुंगो लगाइएपनि मुख्यमन्त्री, मन्त्रीलगायतको कार्यालय र सचिवालयको लागि भने भवन खोज्ने काम जारी रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रबीन्द्र बोहराले जानकारी दिनुभयो ।

यसका लागि टोलीले विहीबार निरीक्षण गरेका सरकारी कार्यालयहरुमध्येबाट भवनको टुंगो लगाइने छ । विहीबार धनगढीस्थित सरकारी कार्यालयहरुको निरीक्षण गरेको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलसहितको टोलीले शुक्रबार प्रदेश प्रमुखका सचिवालय र निवास र प्रदेशसभा भवन टुंग्याएको हो ।

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्