सर्वेक्षण टोलीले गरेका कार्यप्रगति जानकारी गराउन विवेकशीलको आग्रह


 


काठमाडौँ, माघ ५
विवेकशील साझा पार्टी नेपालले नेपाल-भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।

साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका बारेमा जानकारी सरकारलाई आग्रह गरेको हो ।

साझा पार्टीले देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर कहीँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउनेखालका कुनै पनि गतिविधि हुन नदिन सरकारलाई दृढ रहन पनि आग्रह गरेको छ ।

साझा पार्टीले सिमाना मिचिएका कुरा नेपालका सीमाविद्ले गम्भीर चिन्ता व्यक्त गर्दा पनि सरकारले केही प्रतिक्रिया नजनाएको उल्लेख गरेको छ ।

नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगञ्ज महानगरपालिका-१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिगाहाभन्दा बढी जमिन मिचिएको भन्नेबारे पनि ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्