यसरी सर्वसाधारणलाई कुट्ने प्रहरीमाथि कस्तो कारबाही होला ?
यातनाको छानबिन गर्न समिति गठन
भोजपुर, भदौ ५
भोजपुरको रानिबास गाविसमा प्रहरीले स्थानीयलाई निर्मम कुटपिट गरेको घटनाप्रति जिल्लामा सर्वत्र आलोचना भएको छ । घटनालाई लिएर सर्वत्र चासो ब्यक्त हुन थालेपछि प्रहरीले छानबिन समिति समेत गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक आमोद खेरवारको संयोजकत्वमा प्रहरीले छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिले स्थलगत अध्ययन गरी बुझाएको प्रतिबेदनका आधारमा घटनामा संलग्न दोषी उपर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए । छानबिनका लागि खेरवारको टोली घोरेटार गएको छ ।
इलाका प्रहरी कार्यालय घोरेटारमा व्यक्तिगत लेनदेनको विषयमा परेको उजुरीका आधारमा गत साउन ३१ गते प्रहरीले रानीबास–२ पेक्लाका ५५ बर्षिय रहरमान राईलाई प्रकाउ गरी निर्मम कुटपिट गरेको थियो । प्रहरीको कुटाइबाट गम्भिर घाइते भएका राइको जिल्लामा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार शुरु भएको छ ।
गम्भिर घाइते बनेका राईको शरिरभरी निलडाम र चोट छ भने कम्मर मुनीको भाग अझै चल्न नसकेको आफन्तले बताएका छन् । परिवारले घटनामा संलग्न प्रहरीलाई कडा कारबाहीको माग राखेका छन् ।
राईलाई रानीबास–३ का गंगाराम राई, सानीमाया राई, कौशिला राई, सर्मिला राई, प्रमिला राईले संयुक्त रुपमा उजुरी दिएको आधारमा प्रहरीले पक्राउ गरेको थियो । पीडित राईले श्रीमति मनमाया राईमार्फत केहीवर्षअघि विदेश जानको लागि छिमेकी देशबहादुर राईको श्रीमति सुमित्रा राईसित १७ हजार दुई सय रुपैंया“ ऋण सापटी लिएका थिए ।
सोही ऋण समयमा तिर्न नसकेपछि सुमित्रा राईको छोरीहरु सर्मिला राई, कौशिला र प्रमिला राईले उक्त लेनदेनमा साक्षि बसेका गंगाराम राई र उनको श्रीमति सानीमाया राई समेतले प्रहरीलाई उजुरी दिएका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरिक्षक चिरन्जिवि दाहालले गल्ति भएको स्विकार गरिसकेका छन् ।
प्रहरीले ठगी, लुटपात, चोरी डकैती सम्बन्धि मुद्धा मात्रै अनुसन्धान गर्छ, व्यक्तिगत लेनदेनको मुद्धा हेर्देन डिएसपी लम्साल भन्छन्, घटनामा संलग्न प्रहरीलाई कारबाही हुन्छ ।
यो पनि पढ्नुहोस्
प्रकाशित मिति: ५ भाद्र २०७२, शनिबार