मोरङका १५ स्थानीय तहमा बारुणयन्त्र छैन


 


पथरी, मोरङ, ४ माघ

मोरङका १५ स्थानीय तहमा दमकल छैन । झट्ट आगलागी हुँदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन् ।

बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथान, कानेपोखरी, बूढीगंगा, कटहरी गाउँपालिकामा बारुण यन्त्र छैनन् ।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीका अनुसार जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा निभाउन अरू जिल्लाका दमकल बोलाउनुपर्छ ।

जिल्लामा गत वर्षको पुसदेखि हालसम्म एक वर्षमा ६२ स्थानमा आगलागी हुँदा ६४ वटा घर पूर्णरूपमा नष्ट भए । प्रहरीका अुनसार उद्योग र व्यापारिक क्षेत्र गरेर सात ठाउँमा भएको आगलागीले क्षति भएको छ ।

त्यसैगरी, सामुदायिक स्कुल एवम् वनमा पनि आगलागी भएका छन् । आगोमा परेर चार जनाको मृत्यु भयो भने तीनजना घाइते भएका थिए । ती घटनामा २७ चौपाया मरे भने पाँचवटा घाइते भए ।

आगोले करिब २६ करोडको क्षति भयो । मोरङको विराटनगर महानगरपालिका र सुन्दर हरैचा नगरपालिकासंग मात्र बारुणयन्त्र रहेका छन् । रासस

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्