अध्यक्ष्य ओलीसहित शीर्ष नेताले दिए सोनम ल्होछारको शुभकामना


 


काठमाडौँ, माघ ४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज दिनुभएको एक शुभकामना सन्देशमा अध्यक्ष ओलीले सोनाम शब्दले खेतीपातीसँग पुण्यकार्यको अर्थ पनि बुझाउने हुनाले यसलाई सोनाम (कृषक) ल्होछार भन्ने गरिएको बताउनुभएको छ ।

नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश हो, यहाँ बसोबास गर्ने हरेक जातिका आफ्ना आफ्नै संस्कृतिहरु छन् । एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि साथ दिने हाम्रो परम्परागत प्रचलन रहेको उहाँले बताउनुभएको छ ।

नेपालको जातीय सद्भावलाई बिथोल्न केही समय अगाडि धेरै प्रयास भए । तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर पाखा लगाए । जातीय एकता, धार्मिक सहिष्णुता नेपालका पहिचान हुन् । यसको संरक्षणमा सबैको ध्यान जानु जरुरी हुन्छ, सन्देशमा उल्लेख छ ।

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा मूलतः राजनीतिक संक्रमणकाल सकिएको छ । त्यसकारण अब सबैको ध्यान विकास र समृद्धिमा छ ।

देशको मूल प्राथमिकतालाई सम्पूर्ण तामाङ समुदायले पनि साथ र सहयोग दिनेछन् भन्ने विश्वास लिएको पनि ओलीले बताउनुभएको छ ।

पौडेलद्वारा पनि शुभकामना 

यसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै वरिष्ठ नेता पौडेलले विविध जातजाति, धर्म, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यस प्रकारका चाडपर्वले आपसमा प्रेम, सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ पार्नसमेत प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लास एवम् आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने गरिन्छ । रासस

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्