नेपाली डाक्टरले पत्ता लगाए खतरनाक भाइरस ‘ईबोला’ को औषधि


 


काठमाडौं, माघ ३
विश्वमै खतरनाक मानिएको ईबोला भाइरसको औषधि नेपाली डाक्टरसहितको टोलीले पत्ता लगाएको छ । बागलुङका घर भई अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ ।

टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् ।टोलीले थप औषधि पनि विकासकै क्रममा रहेको जनाएको छ । औषधि हालै संसारमा भयभीत बनाइरहेको अर्को जीका भाइरसविरुद्ध पनि प्रभावकारी देखिएको मानिएको छ । अन्नपूर्णमा खबर छ ।

यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ ।

संसारकै खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने यो रोगले केही दिनमै महामारीको रूप लिन सक्छ ।

थुप्रै स्वास्थ्यकर्मीको समेत बिरामीको उपचार गर्ने क्रममा यो रोग सरेर मृत्यु भएको छ । लामो समय लगाएर गरिएको यो अनुसन्धानले इबोला भाइरसको रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्ने जानकारी डा. खड्काले बताए ।

सयौं औषधिबाट ५६ सम्भावित औषधि पत्ता लागेको र त्यसमा बेन्जोक्युनोलाइन समूहको औषधिको विस्तृत अध्ययन भइरहेको उनको भनाइ छ ।

खड्का बागलुङका पूर्वसांसद स्वर्गीय हरिबहादुर खड्का र राज्यमन्त्री चम्पादेवी खड्काका जेठो छोरा हुन् । संसारका सीमित वैज्ञानिकको मात्र प्रयोगशालामा पहुँच हुने र चौथो तहमा अध्ययन गर्ने निकै कम अवसर पाउनेमा डा.खड्का भाग्यमानी नेपाली विद्यार्थी हुन् ।

सेल एन्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडलिस्ट डा।खड्काले आधारभूत शिक्षा बागलुङ बजारबाट हासिल गरेका थिए । त्यसपछि काठमाडौं विश्वविद्यालयबाट आईएससी गरी थप अध्ययनका लागि अमेरिका गएका थिए ।

 

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्