काँग्रेस केन्द्रीय समितिको बैठक माघ ४ गते बस्ने


 


काठमाडौँ, माघ २
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक यही माघ ४ गते बस्ने भएको छ ।

बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो ।

निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति बैठक र पार्टीको महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्यका साथै निर्वाचनमा पार्टीको पराजयलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

निर्वाचनपछि पार्टीमा विशेष गरी संगठन सुदृढीकरणका लागि विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठकमा यसबारेमा समेत छलफल हुने बताइएको छ । रासस

प्रकाशित मिति: २ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्