खप्तड गोल्डकपको उपाधि आर्मीलाई


 


धनगढी, माघ २
कैलालीको धनगढीमा भएको सर्वाधीक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ ।

हिजो धनगढी रंगशालमा भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजीत गर्दै उपाधी जितेको हो ।

निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत निकालिएको थियो । उपाधीसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

उप विजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ । फाईन खेलका म्यान अफ दी म्याच फाईनल आर्मीका नवयुग श्रेष्ठ भए । निर्धारित समयको खेलमा दुवै टोलीले राम्रो अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए ।

तर आर्मी र एपीएफ दुवैले एक अर्काको डिफेन्स तोड्न नसक्दा निर्धारीत समयमा एउटा पनि गोल नभएको हो । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफलाई अग्रता दिलाउने मौका गुमाएका थिए ।

यस्तै खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रि किक एपीएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार पनि अमृतले बचाएका थिए । प्रतियोगीताका आर्मीका कप्तान भरत खवास उत्कृष्ठ खेलाडी हुदै मोटरसाईकल पाए ।

यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजीङ प्लेयर सुदुरपश्चिम ११ का गोलकिपर अमानत शेख घोषीत भए । तिनै जनाले नगद १५–१५ हजार नगद प्राप्त गरेका छन् ।

तेस्रो संस्करणका लागि दोब्बर पुरस्कार राशी घोषणा
दोस्रो सुदूरपश्चिम खप्तड गोल्ड कप सकिएसंगै आगामी तेस्रो संस्करणका लागि झण्डै दोब्बर पुरस्कार राशी घोषणा गरिएको छ। तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख नगद दिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले घोषणा गरे ।

यस्तै उपविजेता टोलीको पुरस्कार राशी पनि अर्को वर्ष १० लाख ५० हजार रुपैयाँ रहने उनले घोषणा गरिएको छ । यसअघि पहिलो संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

प्रकाशित मिति: २ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्