राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति/माघीको शुभकामना


 


काठमाडौं, माघ १
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि सन्देशमार्फत शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ–आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैबिच मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शुभकामना व्यक्त गर्नुभएको छ । यसैबीच–माघीको अवसरमा टुँडिखेलमा हुने ‘माघी महोत्सव’को उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने भएको छ । महोत्सवमा राखिएका स्टलमा थारु हस्तकला, थारुका विभिन्न खानाका परिकार, थारु पत्रपत्रिका तथा पुस्तक, थारु समुदायको महिला र पुरुषले लगाउने विभिन्न पहिरनका सामग्री छन् ।

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्