स्वेच्छिक अवकासको प्रक्रिया शुरु, कहाँ दिने निवेदन ?


 


काठमाडौं, माघ १
सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ ।

मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकासका लागि सूचना प्रकाशित भएदेखि ४५ दिनसम्म फारम भर्ने समयावधी तोकिएको छ ।

स्वेच्छिक अवकासका लागि मन्त्रालयले छुट्टै एकाई समेत गठन गरेको छ । स्वेच्छिक अवकासमा जाने कर्मचारीले सम्बन्धित कार्यालयमा निवेदन दिन सक्ने छन् ।

त्यसपछि उक्त निवेदनको आवश्यक छानविन गरी मन्त्रालयले अवकास दिनेछ । बीस वर्ष सेवा पुरा गरेका र ५० वर्ष उमेरका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्ने मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता न्यौपानेले बताउनुभयो ।

अवकासमा जाने कर्मचारीले सात वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) पाउने छन् । त्यसपछि नियमित निवृत्ति पाउने उहाँले बताउनुभयो ।

निलम्बनमा परेका, विभागीय कारबाहीमा परेका र अध्ययन बिदा पुरा गरी न्यूनतम सेवा अवधि पुरा नगरेका कर्मचारीले भने अवकास पाउने छैनन् ।

कर्मचारी समायोजन ऐन, २०७४ मा संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेको छ । रासस

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्