माघे संक्रान्ति र माघी पर्व मनाइँदै


 


काठमाडौं, माघ १
आज माघ महिनाको पहिलो दिन माघे संक्रान्ति मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो दिने र शरीरमा उर्जा थपिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको छ ।

यसैबीच थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि साताव्यापी रुपमा धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

पुसको अन्तिम दिन हिजो रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने चलन छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

नेवार समूदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् । आज काठमाण्डौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् ।

प्रकाशित मिति: १ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्