राष्ट्रियसभाका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? यस्तो छ खर्चको सीमा


 


काठमाडौँ, पुस ३०
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा भाग लिने उम्मेदवारले निर्वाचनको प्रचार प्रसारमा गर्न पाउने अधिकतम खर्चको सीमा तोकेको छ ।

आयोगको आजको बैठकले निर्वाचन खर्चको अधिकतम हद तीन लाख ५० हजार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

उम्मेदवारले मतदाता नामावली पुस्तिका खरिदमा एक हजार, सवारीसाधनमा ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार, प्रचार प्रसार सामग्री १४ हजार ५००, ढुवानी १० हजार, गोष्ठी÷अन्तरक्रियामा एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५००, कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउने गरी आयोगले खर्चको अधिकतम सीमा तोकेको छ ।

‘अल्पसंख्यक समुदाय’ तोक्न आग्रह

यसैगरी, आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’को विवरण तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशनसमेत गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

दस्तखत नमुना पठाउन अनुरोध

आयोगको आजैको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना माघ ३ गतेसम्ममा पठाउन राजनीतिक दलहरुलाई सूचित गर्ने निर्णय गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ३० पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्