यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?


 


काठमाडौं, पुस ३०
राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ । प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको हो ।

कांग्रेसले १२ र मधेसकेन्द्रित दलले ४ सिटमा मात्र जित निकाल्ने देखिएको छ । राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदैछ । ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।

प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका/नगरपालिका) का प्रमुख र उपप्रमुख मतदाता हुने भएकाले राष्ट्रियसभाको नतिजा अनुमान गर्न सकिएको हो ।

७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक–फरक छ ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।

प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभामा सांसद निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट तीन महिला, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र तीन जना अन्य निर्वाचित हुनेछन् ।

एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्तिका लागि बहुमतीय चुनाव प्रणाली अवलम्बन हुनेछ भने तीन महिला र तीन अन्यका लागि एकल संक्रमणीय चुनाव प्रणाली लागू हुनेछ।

प्रदेश २ बाहेक सबैमा वाम गठबन्धनले एक दलित र एक अल्पसंख्यक वा अपांगता भएका व्यक्तिको चुनावमा जित हासिल गर्ने देखिन्छ । प्रदेश २ मा मधेसकेन्द्रित दल राजपा र संघीय समाजवादीले कांग्रेस वा वाम गठबन्धनमध्ये जोसँग तालमेल गर्छन्, उसैले जित्ने अवस्था छ ।

एकल संक्रमणीय चुनाव प्रणालीमा जम्मा सदर मत संख्यालाई जम्मा निर्वाचित हुने पद संख्यामा एक जोडेर हुन आउने संख्याले भाग गर्दा आउने भागफलमा एक जोड्दा आउने संख्यालाई आवश्यक मत संख्या मानिन्छ ।

जित्न आवश्यक मत पुगेपछि बढी भएको मत सोही दलको अर्को उम्मेदवारमा संक्रमण वा सर्ने सिद्धान्त यो चुनाव प्रणालीमा लागू हुन्छ ।

यस्तो छ प्रदेशगत रूपमा दलहरूको अवस्था

प्रदेश १

प्रदेश १ को जम्मा मतभार ९ हजार ३ सय ९६ छ । निर्वाचित हुन आवश्यक मत २ हजार ३ सय ५० हो । यो प्रदेशमा कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २ हजार ७ सय ३६ हुन्छ। वाम गठबन्धनको ६ हजार २ सय २८ मतभार हुन्छ ।

त्यसैले १ नम्बर प्रदेशमा १ महिला र १ अन्य कांग्रेसले जित्ने अवस्था छ भने दुई महिला र दुई अन्य वाम गठबन्धनको हात पर्ने देखिन्छ । यो प्रदेशमा वाम गठबन्धनको बहुमत छ ।

प्रदेश २

प्रदेश २ मा कुनै पनि दलको बहुमत छैन । यो प्रदेशको मतभार १० हजार ३२ छ । निर्वाचित हुन आवश्यक मत दुई हजार पाँच सय नौ हो ।

कांग्रेस र फोरम लोकतान्त्रिकको मतसंख्या दुई हजार तीन सय ७० छ । वाम गठबन्धनको तीन हजार १२ मतभार छ । राजपा र संघीय समाजवादी फोरमको चार हजार पाँच सय मत छ ।

यो प्रदेशमा वाम गठबन्धनले एक महिला र एक अन्य जित्ने देखिन्छ । राजपा र संघीय समाजवादी मिलेमा एक महिला र एक अन्य जित्ने अवस्था छ भने कांग्रेस एक्लैले कुनै पनि पद जित्ने अवस्था छैन । कांग्रेस, राजपा वा संघीय समाजवादी मिलेमा एक महिला र एक अन्य जित्ने अवस्था छ ।

प्रदेश ३

प्रदेश ३ मा वाम गठबन्धनको बहुमत छ । जम्मा मतभार नौ हजार पाँच सय ६४ रहेकोमा जित्न आवश्यक मत दुई हजार तीन सय ९२ चाहिन्छ ।

कांग्रेसको दुई हजार दुई सय १४ मत छ । वाम गठबन्धनको ६ हजार आठ सय ७६ मत छ । यो प्रदेशमा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ ।

बाँकी एक महिला र एक अन्य सिट जित्न भने साना दलको भर पर्नुपर्ने अवस्था छ। नेमकिपा, नयाँ शक्ति, विवेकशील साझा, राप्रपा र राप्रपा प्रजातान्त्रिकको सहयोग कांग्रेसलाई भए कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनलाई भए वाम गठबन्धनले ती दुई पद जित्ने अवस्था छ ।

प्रदेश ४

प्रदेश ४ को मत संख्या ५ हजार ९ सय ४० छ । यो प्रदेशमा जित्नका लागि १ हजार ४ सय ८६ मत चाहिन्छ । कांग्रेसको २ हजार १ सय ७८ मत छ ।

वाम गठबन्धनको ३ हजार ३सय ४८ मत छ । कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ ।

प्रदेश ५

८ हजार १ सय मत रहेको ५ नम्बर प्रदेशमा जित्नका लागि दुई हजार २६ मत चाहिन्छ । कांग्रेसको दुई हजार ६४ मत छ ।

वाम गठबन्धनको पाँच हजार दुई सय ८६ मत छ । प्रदेश ५ मा एक महिला र एक अन्य कांग्रेसले तथा दुई महिला र दुई अन्य वाम गठबन्धनले जित्ने देखिन्छ ।

प्रदेश ६

प्रदेश ६ का सबै सिट वाम गठबन्धनले जित्ने देखिन्छ । चार हजार सात सय ६४ मत संख्या रहेको यो प्रदेशमा जित्नका लागि एक हजार एक सय ९२ मत चाहिन्छ ।

तर, कांग्रेसको एक हजार २६ मात्र मतसंख्या छ । वाम गठबन्धन र केही स्वतन्त्र (वाम गठबन्धननजिक) को ७२ मतसमेत जोड्दा वाम गठबन्धनको तीन हजार ६ सय १८ मत हुन्छ । यो संख्याले तीन महिला र तीन अन्य जित्ने देखिन्छ ।

प्रदेश ७

प्रदेश ७ को जम्मा मतभार पाँच हजार सात सय १२ छ । निर्वाचित हुन आवश्यक मत संख्या एक हजार चार सय २९ हो ।

कांग्रेसको एक हजार ८ सय ७२ मत संख्या छ भने फोरम लोकतान्त्रिकको ३६ समेत कांग्रेसको भागमा जोड्दा एक हजार नौ सय आठ हुन्छ ।

वाम गठबन्धनको तीन हजार सात सय आठ मत छ।  यो प्रदेशमा कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ । अन्नपूर्णपोष्ट

प्रकाशित मिति: ३० पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्