राष्ट्रियसभाका लागि एमालेले तोक्यो उम्मेदवारको योग्यता, यस्ता छन् मापदण्ड


 


काठमाडौं, पुस २८

नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको छ ।

शुक्रबार एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तोकेको हो ।

एमाले सचिव प्रदीप ज्ञवालीद्धारा जारी विज्ञप्ती अनुसार संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, भौगोलिक र सामाजिक सन्तुलन, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका र विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु उम्मेदवार हुन पाउने मापदण्ड तय गरेको छ ।

त्यसैगरी बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर विरामी परेको स्थितिप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली पठाउन तथा पर्याप्त औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको
छ ।

शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीहरुलाई तत्काल परिचालित हुन पनि निर्देशित गरेको छ ।

हेर्नुहोस मापदण्ड

१. संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका ।

२. पार्टीमा लामो योगदान गरेका ।

३. पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ।

४. भौगोलिक र सामाजिक सन्तुलन

५. स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका ।

६. विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु ।

सिफारिसका प्रक्रिया

प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ ।

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीले गर्नुपर्नेछ ।

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्