यसरी बाड्ने भए वाम गठबन्धनले राष्ट्रियसभाको सिट र मुख्यमन्त्री, कुन प्रदेशमा को ?


 


काठमाडौं, पुस २८

एमाले र माओवादीद्धारा गठित कार्यदलले राष्ट्रियसभा र प्रदेश सरकार गठनका लागि सिट बाँडफाँटका मुख्य आधार तय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पाएलगत्तै शुक्रबार कार्यदलको बैठक बसेको हो ।

एमाले संसदीय दलको कार्याल सिंहदरबारमा वसेको बैठकले साझा उम्मेदवार चयन गर्न छलफल सुरु गरेको हो ।

कार्यदलले राष्ट्रियसभाको सिट बाँडफाँट, प्रदेशसभाका मुख्यमन्त्री, र सभामुख पद बाँडफाँटबारे आधार तय गरेको छ ।

सिट बाँडफाँड तथा, प्रदेश सरकार गठनका लागि दुई पार्टीले स्थानीय तथा प्रदेशमा पार्टीको शक्ति, पार्टी एकताको भावना, योग्य व्यक्ति र प्रदेशको सन्तुलनलाई मुख्य आधार बनाइएको छ ।

माघ १० गते राष्ट्रियसभा निर्वाचनको उम्मेदवार दर्ता अघि नै राष्ट्रियसभा सिट टुंगो लगाइने एमाले नेता एंव कार्यदलका सदस्य सुवास नेम्बाङले जानकारी दिए ।

राष्ट्रियसभामा सिट बाँडफाँड गर्दा ६० ४० कै भागबण्डा हुने स्रोतको दाबी छ । ५६ सिटमा वामगठबन्धनले साझा उम्मेदवार चयन गर्नेछ ।

मुख्यमन्त्री कसरी छान्दैछ ?

वाम गठबन्धनको यो कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।

सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमत छ । मुख्यमन्त्री, सभामुख बाँडफाँडमा चारवटा आधारलाई मुख्य आधार बनाइने बताइएको छ ।

एमालेले ४ र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना बलियो छ । सभामुख पनि यसरी नै बाँडफाँड गरिने बुझिएको छ ।

मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई मुख्य ध्यान दिइने भएको छ ।

जसअनुसार प्रदेश १ बाट राई वा लिम्बु, प्रदेश ३ मा नेवार वा तामाङ, ४ मा गुरुङ उम्मेदवारले पहिलो प्राथमिकता पाउने भएका छन् ।

प्रदेश १ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य, ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एकजना मुख्यमन्त्री हुने सम्भावना बढी छ ।

प्रदेश ५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने चुनावअघि नै ओली र प्रचण्डले सहमति गरिसकेका छन् ।

प्रदेश ६ मा खसआर्य समुदायले मुख्यमन्त्री पाउने सम्भावना छ । यहाँ माओवादीले दाबी गर्दे आएको छ ।

माओवादीबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार हुन् । तर यहाँ एमालेको बहुमत छ ।

त्यसैले एमालेले मुख्यमन्त्री पाउनु पर्ने दाबी यहाँका अधिकांश एमालेले गर्दे आएका छन् ।

एमालेबाट प्रकाश ज्वाला र यमलाल कँडेल मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश ७ को मुख्यमन्त्री माओवादीले पाउने सम्भावना छ । यहाँ वीरमान चौधरी र झपट बोहोरा मध्ये एकको सम्भावना छ ।

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्