आज बुझाउँदैछन् माओवादी केन्द्रका मन्त्रीले राजीनामा


 


काठमाडौँ, पुस २८
नेकपा(माओवादी केन्द्र)बाट सरकारमा सहभागी मन्त्रीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् ।

विनाविभागीय मन्त्रीहरुले आज राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ । विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई राजीनमा बुझाउन लागिएको जानकारी दिए ।

हिजो नै राजिनामा दिने भनिएपनि आज माओवादी मन्त्रीहरुले राजिनामा दिने भएका हुन् ।

सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गर्नुभएको थियो ।

“निर्वाचनको सुनिश्चितताका लागि हामी सरकारमा थियाैं, निर्वाचन सम्पन्न भएको छ । हामीले धेरै अपजस सहेर पनि निर्वाचन सम्पन्न गरायौँ, वाम गठबन्धनले जीत हासिल गरेको छ ।

हाम्रो जिम्मेवारी हामीले पूरा ग¥याँै भन्ने लागेको छ”, विनाविभागीय मन्त्री शाहीले भन्नुभयो ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शाही, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारु मन्त्रीका रुपमा सहभागी हुनुभएको थियो ।

यस्तै माओवादी केन्द्रबाट सात राज्यमन्त्री सरकारमा सहभागी हुनुहुन्थ्यो । विनाविभागीय भए पनि उहाँहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै आउनुभएको थियो ।

माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्री महरा राजधानी बाहिर भए पनि आजै एक वरिष्ठ मन्त्रीले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरिएको मन्त्री शाहीको भनाइ छ ।

संवैधानिक प्रावधानका कारण प्रधानमन्त्रीले विनाविभागीय बनाए पनि हटाउन नमिल्ने प्रावधानका कारण माओवादी केन्द्रका मन्त्री मन्त्री पदमा बहाल थिए । रासस

प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्