यसरी तोड्दैछ नेपालले भारतको विश्व किर्तिमान


 


पचास हजारबाट बुद्ध उपदेश वाचन हुने

काठमाडौं,  पुस २७
५० हजार मानिसले आगामी माघमा एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन् ।

विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा कीर्तिमान कायम गर्न माघ २७ गते स्थानीय टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन् ।

‘बुद्ध वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन् ।

परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा प्रतिपादित बौद्ध दर्शन तथा उपदेशको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “राष्ट्र, राष्ट्रियता र स्वाभिमान दर्शाउन र नेपालीको जीवनमा महत्वपूर्ण रहेका बुद्ध उपदेश र ‘धम्मपद’ सस्वर वाचनमार्फत यसअघि कायम रहेको विश्व कीर्तिमान भङ्ग गरी नेपालको नाममा कायम गर्ने प्रयासस्वरुप यो राष्ट्रिय गौरवको कार्यक्रम गरिन लागेको हो ।”

सो कीर्तिमानी अहिले भारतका नाममा दर्ता छ । भारतले सन् २०१४ फेब्रुअरीमा ४६ हजार ६६० मानिसद्वारा १६ औं शताब्दीका कवि पोथानमद्वारा रचित ‘जानपना’ वाचन गरी कीर्तिमानी राखेको थियो ।

सो कार्यक्रम सफल बनाउन परिषद्ले नेपाल सरकार र विभिन्न संघसस्थासँग आग्रह गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत रुपमा रु ५१ हजार कार्यक्रमका लागि सहयोग गरिने घोषणा गर्नुभयो ।

कार्यक्रम सम्पन्न गर्न रु दुई करोडभन्दा बढी खर्च हुने परिषद्को अनुमान छ । रासस

प्रकाशित मिति: २७ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्