बैंकक जाँदाजाँदै ओलीले दिए यस्तो निर्देशन


 


सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार : अध्यक्ष ओली
काठमाडौँ, पुस २६

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताउनुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार हो तर यसलाई ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरिएको छ ।”

गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए पनि समानुपातिकतर्फको परिणाम सार्वजनिक हुन बाँकी छ ।

अध्यक्ष ओलीले संविधान कार्यान्वयन र जनताको हितका विषयमा संशोधन गर्नुपर्नेमा नकारात्मक व्याख्या गरेर लोकतन्त्रको गतिलाई अड्काउने काम भएको टिप्पणी गर्नुभयो ।

निर्वाचनबाट प्राप्त जनताको अभिमतको अवमूल्यन गरेर लोकतन्त्रअघि बढ्न नसक्ने बताउँदै उहाँले वर्तमान सरकारले सत्ता हस्तान्तरणसँग सम्बन्धित प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी तोक्नेजस्ता काम मात्र गर्न सक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकता चाँडै हुने जनाउँदै एकता भाँड्न गरिएका सबै षड्यन्त्र असफल हुने दाबी गर्नुभयो ।

“हामीलाई नेताहरूको पदको व्यवस्थापनको चिन्ता छैन, जनताको सुख र समृद्धिको चिन्ता छ, म विदेशबाट फर्केपछि तीव्रताका साथ एकता प्रक्रिया अघि बढ्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओली बैंककस्थित बुङ्रुगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराई आगामी माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको छ ।

आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी रहेको छ ।

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय 

नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरु गर्ने भएको हो ।

ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम शुरु गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भोलिदेखि नै कार्यदलले सघन रूपमा काम शुरु गर्ने बताउनुभयो । यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उहाँले दुई पार्टी छिट्टै पार्टी एक हुने दाबी गर्नुभयो ।

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिनुभयो ।

बैठकबारे जानकारी दिँदै एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच थप छलफल भएको थियो ।

गठबन्धनले गरेको कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहनुभएको थियो ।

आजको बैठकका पाण्डे र यादव भने उपत्यकाबाहिर भएकाले बैठकमा उपस्थिति नभएको जानकारी दिएको छ ।

प्रकाशित मिति: २६ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्