बागलुङका पत्रकार महासंघलाई दुई लाख ५० हजार सहयोग


 


बागलुङ, पुस २५
नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणमा उद्योग वाणिज्य संघ बागलुङले दुई लाख ५० हजार सहयोग गरेको छ ।

संघद्वारा हालै आयोजित बागलुङ महोत्सवको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो ।

पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सरकारी, निजी क्षेत्रलगायत सबैतिरबाट प्राप्त सहयोगले आफूहरु उत्साहित भएको बताउनुभयो ।

स्थापना भएको १९ वर्षपछि पत्रकार महासंघ बागलुङको आफ्नै भवन बन्दैछ । एक करोडको लागतमा बन्ने भवनको ५० प्रतिशत काम पूरा भएको छ ।

चालु आवभित्रै तीन तले भवनको सबै काम पूरा गर्ने योजना रहेको शाखा अध्यक्ष शिरीषले बताउनुभयो । बागलुङ नगरपालिका-२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाकक्षलगायत संरचना बन्नेछन् ।

भवन निर्माणका लागि शाखाले गत वैशाखदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामको आर्थिक अभियान चलाएको छ । उक्त अभियानबाट ३० लाख संकलन भएको शाखाले जनाएको छ ।

महासंघका पदाधिकारी, सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय पार्षद्, प्रादेशिक पार्षद् र साधारण सदस्यबाट मात्र सात लाख संकलन भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहबाट पनि भवन निर्माणमा ३० लाख आर्थिक सहयोग जुटेको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाले १० लाख विनियोजन गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयलगायत निकायमा पनि सहयोगका लागि समन्वय भइरहेको छ ।

विदेशमा रहेका नेपालीले पनि स्वेच्छिक रुपमा सहयोग गरिरहेका छन् । आफ्नै भवन नहुँदा भाडाको कोठाबाट महासंघ चलाउनुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति: २५ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्