तयार रहनुहोस् ९४ करोडको हकप्रद शेयर आउँदैछ


 


काठमाडौँ, २४ पुस

नेपाल धितोपत्र बोर्डले ९४ करोड तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ ।

बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद शेयर निष्कासनका लागि आज स्वीकृति दिइएको छ ।

एसियन लाइफ इन्स्योरेन्सले दश कित्ता बराबर एक पाउने गरी ४० करोड २७ लाख ९६ हजार ६२० बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिइएको छ ।

हकप्रद शेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले २२ करोड ८१ लाख ३१ हजार ३०० मूल्यबराबरको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको बोर्डले जनाएको छ ।

फस्ट माइक्रोफाइनान्स लघु वित्तको हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सो कम्पनीले दुई कित्ताबराबर एक पाउने गरी हकप्रद निष्कासन गर्न लागेको छ ।

यस्तै कामना सेवा विकास बैंकले ३० करोड ९४ लाख १५ हजार ४७७ मूल्यबराबरको ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिइएको हो ।

कामना सेवाको हकप्रदका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कामनाले दश कित्ता बराबर एक दशमलब पाँच कित्ता हकप्रद शेयर दिनेछ ।

नागरिक लगानी कोष अन्य समूहमा

नेपाल स्टक एक्सचेन्जले वित्त समूहअन्तर्गत रहेको नागरिक लगानी कोषलाई अन्य समूहमा सारेको छ ।

कोष र वित्त समूहमा रहेका सूचीकृत कम्पनीको व्यावसायिक प्रकृतिलाई हेरेर समूह परिवर्तन गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।

नेप्सेले सूचीकृत कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्दै आएको छ । नेप्सेमा विभिन्न १४ समूह रहेका छन् ।

नेप्सेले  वर्गीकरण गरिएका कम्पनीलाइ उपसूचकमार्फत कारोबार मापन गर्दै आएको छ । कोष थपिएपछि अन्य समूहमा कम्पनीको संख्या चार पुगेको छ ।

कोष थपिनुअघि सो समूहमा जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका थिए ।

प्रकाशित मिति: २५ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्