विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यान्वयन गर्न नेविसंघको माग


 


काठमाडौँ, पुस २४
नेपाल विद्यार्थी संघले संविधान बमोजिम सबै नियमित विद्यार्थीमा निःशुल्क स्वास्थ्य बीमा अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान-२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यस्था गर्न माग गरेको हो ।

यस्तै संविधानको भाग ३ को धारा ३३ अनुसार युवा बेरोजगारीलाई बेरोजगार भत्ता दिनुपर्ने, प्राविधिक उच्च शिक्षाको ग्यारेण्टी गर्न एक/एक मेडिकल कलेज, इञ्जिनयर कलेज, कृषि क्याम्पस तत्काल स्थापना गनुपर्नेमा पनि जोड दिइएको छ ।

नेविसंघले सबै क्याम्पसमा विद्युतीय पुस्तकालयको व्यवस्था हुनुपर्ने, लाभधाङ्कपत्र धितो राखेर सहुलियत ऋण लिन पाउनुपर्ने, प्रत्येक वडामा दुई/दुईवटा बालविकास केन्द्र स्थापना गर्नुपर्ने, निर्वाचनमा घाइते भएका नेविसंघ केन्द्रीय सदस्य मीरा कटुवालको उपचार तथा क्षतिपूर्ति तत्काल व्यवस्था गर्न माग पनि गरेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले विद्यार्थीले शिक्षा र स्वास्थ्यको विषयमा राखेको माग जायज भएकाले यसमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेविसंघ सहमहामन्त्री प्रेमप्रसाद जैसीले जानकारी दिनुभयो ।

नेविसंघले आफूहरुले राखेको माग सुनुवाइ नभए हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, धर्ना तथा दबाब र्याली लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्