निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा सेवा सञ्चालनमा
कञ्चनपुर, पुस २४
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१० स्थित झलारी आयुर्वेद औषधालयले निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनमा ल्याएको छ ।
वाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति सञ्चालनमा ल्याइएको हो ।
पञ्चकर्म चिकित्साअनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरी शरीरलाई सुगठित गरी पीडाबाट मुक्ति दिलाई शरीरलाई स्फूर्ति गराइने आयुर्वेद औषधालयका वैद्य दिवाकर जोशीले बताउनुभयो ।
“रोगीको रोगको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घण्टाका दरले सातदेखि १४ दिनसम्म उपचार गरिन्छ”, उहाँले भन्नुभयो ।
स्नेहनपछि रोगीलाई नाडी स्वेदनअन्तर्गत नलीको रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न आवश्यक अंगमा पुर्याउने गरिन्छ ।
औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने वाष्प स्वेदन यंत्र (वाष्प बाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त वाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
पहिलो पटक औषधालयले प्रयोगमा ल्याएको यस विधिको प्रयोग गरेर उपचार गर्न आउनेहरुको संख्या बढ्दै जान थालेको छ ।
पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालन र सोका लागि आवश्यक सामग्री खरिद गर्न नगरपालिकाको वडा कार्यालयमार्फत एक लाख ५० हजार रकम उपलब्ध गराएको छ ।
सोही रकमबाट औषधालयले वाष्प बाकस र अन्य सामग्री खरिद गरेको छ । पञ्चकर्म सेवा शुरु भएकाले यहाँका बिरामीले सेवा लिन अन्यत्र जानु नपर्ने वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो ।
यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाई, शारीरिक तथा मानसिक थकान दूर गर्न सहायक हुने बताइएको छ ।
औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी अविपत्तिकर, सिटोप्लावी, रक्त लवम्गवी, सम्डिपन, हिमकाष्ट, सतरावी, विलम्वी, भुवनेश्वरी वटी, अतिसार चूर्ण र विभिन्न भष्मबाट निःशुल्क उपचार गरिँदै आएको छ ।
औषधालयमा २९ प्रकारको औषधि पाइने गरेको छ । जसमध्ये चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क पाइने गरेको छ ।
“स्तनपाई आमाका लागि दुग्धवर्धक सतावरी चूर्ण र सुत्केरी भइसकेपछि मालिस गर्ने तेलसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
वृद्धवृद्धाका लागि थकान कम गर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धवृद्धाको आकर्षण आयुर्वेदिक औषधालय बनेको छ । रासस
प्रकाशित मिति: २४ पुस २०७४, सोमबार