सुवास नेम्वाङ भन्छन्– प्रदेश १ को मुख्यमन्त्री शेरधन राई


 


काठमाडौं, पुस २२
एमाले नेता एंव पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई हुने बताएका छन् ।

प्रतिनिधी तथा प्रदेश सभामा भोजपुरबाट निर्वाचित वाम गठबन्धनका सांसदहरुलाई भोजपुर काठमाण्डौं वाम गठबन्धन सम्पर्क मञ्चले काठमाण्डौंमा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेम्बाङले उक्त कुरा बताएका हुन् ।

भोजपुरले प्रदेश १ को नेतृत्व पाउँछ यसमा इलामको दाबी छैन, नेम्बाङले भने भोजपुरले नेतृत्व पाउने कुरामा मेरो समर्थन र सुभेच्छा छ ।

कार्यक्रममा बोल्दै नेम्बाङले भने आफूहरुलाई सत्तामा जान हतारो नभएको तर जनादेशलाई दराजमा थन्क्याउने काम भएकाले विदेशी सामु देशको छवी विग्रिएको बताए ।

नेता नेम्वाङ्गले देउवा सरकारले सत्ता नछाडेको फाइदा वाम गठबन्धलाई भइरहेको बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचन र सरकार गठनको कानुनी साइनो सम्बन्ध नै नभएको बेला अनेक वहानावाजीमा सरकारले निर्वाचन आयोगलाई समेत प्रभावमा पारेर आयु लम्ब्याउने षडयन्त्र गरेको नेता नेम्वाङ्गको भनाइ थियो ।

उनले वेलैमा ल्याउनुपर्ने राष्ट्रिय सभा निर्वाचन अध्यादेश स्थानीय तहको चुनावी परिणामपछि सरकारले आफ्नो पक्षमा जनमत गुम्दै गएको थाहा पाएपछि जोखेर ढिला गरेको आरोप लगाए ।

यताउता टाँसिएर सरकार वनाउने र गिराउने खेलमा विगतमा दलहरु लागेकाले स्थायीत्व र दीगो विकासका लागि वामपन्थीहरुले गठबन्धन गरेकाले ढिलो चाँडो एकताको विकल्प नभएको पूर्व सभामुखको भनाई छ ।

‘अब पछाडी फर्कन सकिंदैन, हाम्रो साझा घोषणापत्रलाई जनताले अनुमोदन गरिसकेका छन् हामीले ढंग पु¥याएनौं भने पाँच वर्षपछि जनताले दण्डित गर्नेछौं ।’ उनले भने ।

कार्यक्रममा भोजपुर प्रदेश क बाट निर्वाचित सांसद तथा एमाले केन्द्रिय सदस्य राजेन्द्रकुमार राईले जिल्लाको विकासमा साथ दिन सबैसँग आग्रह गरे ।

प्रतिनिधी सभाका सांसद माओवादी केन्द्रका सुदन किरातीले वाम गठबन्धनको स्थायी सरकारले मात्र जनताको आवश्यकता सम्बोधन गर्ने भएकाले आफूहरुले चुनावमा जनताको घरदैलोमा गएर गरेको वाचा पुरा गर्न अब ढाँटको राजनीतिबाट माथि उठ्नुपर्ने बताए ।

अर्का सांसद तथा पुर्व सञ्चार मन्त्री एमाले पोलिटब्यूरो सदस्य शेरधन राईले जिल्लामा सडक, विद्युत, कृषि, पर्यटन क्षेत्रको विकास गराउन सांसदहरुको मात्र प्रयास नभई विभिन्न निकायमा रहेका विषय विज्ञहरुको साथ सहयोगको खाँचो औंल्याए ।

प्रकाशित मिति: २२ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्