काठमाडौँको तापक्रम एक डिग्री


 


काठमाडौँ, पुस २०
यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।

काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो अझै बढ्ने छ ।

बुधबारको तुलनामा अझ झनै चिसो बढेको छ ।“काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ”, उहाँले भन्नुभयो ।

बिहानैदेखि घाम लागे पनि कठ्यांग्रिँदो जाडोले सर्वसाधारणलाई समस्या भएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ ।

आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने बताइएको छ ।

आज सबैभन्दा कम जुम्लामा ऋणात्मक (माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस छ । (रासस)

प्रकाशित मिति: २० पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्