छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौँ, २० पुस
नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ ।
राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएपछि गम्भीर घाइते भएकामा पिपल्स अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको हो ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
त्यस्तै:- नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गैँडाकोट-१५ अमरापुरी झराहीखोला नजिक बुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार देवचुली नगरपालिका-१४ का २२ वर्षीय मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना २७ प ७३९२ नंको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको को २१ प १९२३ नंको पल्सर मोटरसाइकलले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । (रासस)
प्रकाशित मिति: २० पुस २०७४, बिहिबार