नवराज सिलवालविरुद्ध प्रहरीको पक्राउ पुर्जी, अाखिर कहाँ छन् सिलवाल ?


 


काठमाडौँ, पुस १८
प्रहरी परिसर काठमाडौँले पूर्वप्रहरी नायब महानिरीक्षक तथा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारी कागज कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोप सिलवालविरुद्ध लागेको छ ।

केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते कागज पेश गर्नेको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पुस ५ गते कीर्ते प्रकरणबारे मुद्दा दर्ता गरेको थियो । सोही घटनाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।

सिलवाल क्वालालाम्पुरमा

यसैबीच नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुग्नुभएको छ ।

सिलवालमाथि आज नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उहाँ एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया जानुभएको छ ।

एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले सिलवाल हाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको दाबी गर्नुभयो । रासस

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्