खोटाङको हलेसीमा भीषण आगलागी


 


खोटाङ, पुस १८
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भीषण आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको छ ।

आगलागीबाट उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राईलगायतको घर नष्ट भइसकेको घटनास्थल खटिएको प्रहरीले जनाएको छ ।

भान्छामा प्रयोग गरिने ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।

साँझ करिब साँढे ७ बजेदेखि शुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिकाबाट दमकल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

दिक्तेलबाट दमकल आइपुग्न कम्तिमा दुई घण्टा लाग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ । बाक्लो बजारबाटै आगलागी शुरु भएकाले हलेसीवासीमा त्रास फैलिएको स्थानीय सन्देश राईले बताउनुभयो ।

आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ । अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्