निर्माण सामग्रीको अभावले भूकम्पपीडित समस्यामा


 


सिन्धुली, पुस १८

सिन्धुली जिल्लाका भूकम्पपीडित निर्माण सामग्री अभावका कारण समस्यामा परेका छन् ।

हार्डवयरदेखि स्थानीय कच्चा निर्माण सामग्रीको अभावमा भूकम्पपीडितले हैरानी खेप्नु परेको छ ।

पुस मसान्त नजिकिँदै गर्दा भूकम्पपीडित निर्माण सामग्रीको खोजीमा हार्डवेयर पसलमा सिमेन्ट, छडका लागि धाउँदै आएका छन् । ढुङ्गा, बालुवा, गिट्टी लगायतका सामग्रीको कृत्रिम अभाव भएको छ । कृत्रिम अभाव भएसँगै मूल्यसमेत दोब्बर बनाइँदा भूकम्पपीडितले दोहोरो समस्या झेल्दै आएका छन् ।

छड र सिमेन्ट नपाउँदा समस्या भएको कमलामाई नगरपालिका-४ का खम्बबहादुर ढकालले बताउनुभयो । जिल्लामा यसअघि प्रतिबोरा रु सात सयदेखि रु आठ सयसम्म पर्ने सिमेन्टको मूल्य बढेर रु ९६० देखि रु एक हजार पुगेको छ । भनेको समयमा निर्माण सामग्री नपाउँदा भूकम्पपीडित भौतारिएर बर्दिबाससम्म पुग्ने गरेका छन् ।

यस्तै, दुई घनमिटर ढुङ्गा, बालुवा रु एक हजार ६०० मा खरिद गर्दै आएका भूकम्पपीडित अहिले रु दुई हजार ५०० देखि रु तीन हजारमा खरिद गर्न बाध्य छन् । रु तीन हजारमा खरिद गर्ने गिट्टीको मूल्य आकाशिएर रु सात हजारसम्म पुगेको छ । स्थानीय कच्चा सामग्रीको कृत्रिम अभाव गराई मूल्य वृद्धि गर्न थालेपछि जिल्लाका भूकम्पपीडितले बर्दिबासबाट प्रतिटिप्पर ढुङ्गा रु १२ हजार, बालुवा रु ११ हजार र गिट्टी रु १८ हजारमा खरिद गर्न थालेका छन् । मूल्य वृद्धि दोब्बर भए पनि नियमन निकायले कुनै चासो दिएको छैन ।

हार्डवेयर सञ्चालकले भने कम्पनीले नै मूल्य वृद्धि गरेका कारण आफूहरुले मूल्य बढाउनु परेको बताएका छन् । सिमेन्ट, छडको मूल्य अझै बढ्ने सञ्चालकको भनाइ छ । भारतबाट आवश्यक मात्रामा कच्चा पदार्थ आयात नहुँदा मूल्य वृद्धि भएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्