मुक्तियोद्धा स्व श्रेष्ठको योगदानको स्मरण


 


काठमाडौँ, पुस १८

मुक्तियोद्धा स्व इन्द्रप्रसाद श्रेष्ठको ४५ औँ दिनको पुण्यतिथीको अवसरमा सोमबार आयोजित श्रद्धाञ्जलि सभामा स्व श्रेष्ठले २००७ सालको क्रान्तिमा भोजपुरबाट मुक्तियुद्धमा पुर्याउनुभएको योगदानको स्मरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार परशु प्रधानले प्रजातन्त्र सेनानी स्व श्रेष्ठले समाजसेवी तथा शिक्षासेवीका रुपमा दिनुभएको योगदान नेपाल र नेपालीले भुल्नु नहुने बताउनुभयो ।

भोजपुरे सेवा समाजका परिषद अध्यक्ष दयाकृष्ण न्यौपानेले प्रजातन्त्र प्राप्तिको आन्दोलनका साथै भोजपुरमा शिक्षा क्षेत्रको विकासका लागि स्व श्रेष्ठले भोजपुुर मात्र नभएर देशलाई नै गुन लगाउनुभएको बताउनुभयो ।

उहाँले स्व श्रेष्ठले सातसालका क्रान्तियोद्धा रामप्रसाद राई र नारदमुनि थुलुंगसँगै क्रान्तिमा सहयोग पुर्याउनु भएको उल्लेख गर्नुभयो ।

भोजपुरे सेवा समाजका सल्लाहकार केदार न्यौपानेले रामप्रसाद राई तथा नारदमुनि थुलुंगसँगै प्रजातन्त्रका लागि लड्नुभएका स्व श्रेष्ठ महत्वाकाँक्षी नभई निष्काम कर्मप्रति समर्पित र कर्तव्यप्रति अविचलित हुनुहुन्थ्यो भन्नुभयो ।

 

कृषि विकास बैंकका पूर्व उपमहाप्रबन्धक भविन्द्र खत्रीले प्रजातन्त्रका लागि मार्गचित्र प्रस्तुत गर्ने उहाँहरु जस्ता प्रजातन्त्र सेनानीकै प्रेरणाले युवाहरु प्रजातन्त्रका लागि होमिएका बताउनुभयो ।

कार्यक्रमका सभापति तथा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले श्रेष्ठजस्ता ऐतिहासिक व्यक्तित्वलाई गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दै उहाँजस्ता योद्वाको सहयोग नरहेको भए २००७ सालको क्रान्ति कठिन हुने विचार व्यक्त गर्नुभयो ।

शेर्पाले स्व श्रेष्ठले भोजपुरमा विद्योदय हाईस्कूल स्थापनालगायत कार्यमा योगदान गर्नुभएको जानकारी दिँदै उहाँको नाममा प्रतिष्ठानको आवश्यकता रहेको पनि औँल्याउनुभयो । उहाँले मुलुकका लागि लड्नुभएकाले उहाँको इतिहास जीवन्त राख्नुपर्ने उहाँले बताउनुभयो ।

विसं १९८३ वैशाख ३ गते जन्म भई गत मंसिर ३ गते निधन हुनुभएका स्व श्रेष्ठले २००७ सालको क्रान्तिमा भोजपुर मुक्ति आन्दोलनमार्फत योगदान पुर्याउनु भएको थियो ।

प्रकाशित मिति: १८ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्