सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य


 


काठमाडौं, पुस १७
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ मूल्य बढाइएको छ ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपैयाँ पुगेको छ ।

यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी दिए ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्