आगामी वैशाख तेस्रो साता घरेलु उद्योग महोत्सवको आयोजना


 


काठमाडौँ, पुस १७
नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाखमा ‘नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५’ आयोजना गर्ने भएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख १४ गतेदेखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा प्रदर्शनीको गर्न लागेको हो ।

‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ नाराका साथ शुरु हुने प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीको सहभागिता रहने महासंघले जनाएको छ ।

प्रदर्शनीमा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायतको सहभागिता रहने महासंघले जनाएको छ । सो महोत्सवमा २५० वटा कक्ष रहनेछ ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने विश्वास लिइएको छ । मेला अवधिभर रु पाँच करोडभन्दा बढीको प्रत्यक्ष र रु १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले अपेक्षा गरेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनुभयो ।

लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले नियमितरुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ ।

प्रदर्शनीको सहआयोजकका रुपमा उद्योग मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम र विज्ञान तथा प्रविधि मन्त्रालय रहने छन् ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्