भूकम्पले क्षति पुर्याएका ९०४ खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माण


 


काठमाडौँ, पुस १७
भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो । हाल ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि रु एक अर्ब १० करोड बजेट छुट्याइएको प्राधिकरणले जनाएको छ । पुनःनिर्माण सम्पन्न भइसकेका र भइरहेका गरी एक हजार ८६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्रवक्ता भुसालले बताउनुभयो । आयोजना पुनःनिर्मााणका लागि सरकारको आह्वानमा विकास साझेदार संस्थाले सहयोग गरेकाले छिटो पुनःनिर्माण सम्पन्न हुन सकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्