आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको : नेता सिंह


 


काठमाडौँ, पुस १७
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्ने बताउनुभएको हो । “प्रजातान्त्रिक पद्धतिअनुसारको भएको निर्वाचनको नतिजा स्वीकार्नुपर्छ,”- उहाँले भन्नुभयो ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघको सल्लाहकार समेत रहनुभएका नेता सिंहले मुलुकको आर्थिक विकासमा सुुनचाँदी क्षेत्रको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

रक्षामन्त्री भीमसेनदास प्रधानले संविधानले व्यवस्था गरेअनुसार नै सरकारले सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

“राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउने हुँदा राष्ट्रियसभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्छौं,”- उहाँले भन्नुभयो । राष्ट्रियसभाको निर्वाचन गराउनेबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको उहाँको भनाइ थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य केशव स्थापितले समयको आवश्यकताअनुसार ऐनमा सुधार गरेर आफ्नो व्यवसायलाई सुरक्षित गर्न व्यवसायी लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: १७ पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्