गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ मनाईंदै


 


काठमाडौँ, पुस १५

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

“तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ”–उहाँले भन्नुभयो ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।

राष्ट्रपतिबाट ल्होसारको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले तमूल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

तमूल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालमा विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताउँदै तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना बढाउन मद्दत गरेका उल्लेख गर्नुभएको छ ।

तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दै राष्ट्रपतिले यस्ता संस्कृति र चाडपर्वले नेपालको चिनारी विश्वसामु प्रस्तुत हुन मद्दत पुगेको बताउनुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ समुदायप्रति शुभकामना व्यक्त गर्दै ल्होसार जस्ता चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कामय राख्ने बताउनुभएको छ ।

आज दिनुभएको सन्देशमा उहाँले बुहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताउँदै यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस

प्रकाशित मिति: १५ पुस २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्