राजनीतिक गतिरोध अन्त्यका लागि अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी


 


काठमाडौँ, पुस १४
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री देउवा शीतल निवास जानुभएको थियो । उहाँहरुका बीचमा सो अध्यादेश र पछिल्लो राजनीतिक अवस्था विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश आज नै प्रमाणीकरण गर्नुभएको थियो । सरकारले गत कात्तिकको पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको सो अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा रहेको थियो ।

सो अध्यादेशको अभावमा रााष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । निर्वाचन आयोगलाई राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो परेको थियो ।

संविधानमा रााष्ट्रियसभा निर्वाचनका लागि स्थानीय निकायअन्तर्गतका नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डलको व्यवस्था रहेको छ ।

राष्ट्रपति भण्डारीले सो अध्यादेशमा राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री देउवा, नेकपा (एमाले) अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफलसमेत गर्नुभएको थियो ।

प्रकाशित मिति: १४ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्