अन्ततः एमाले र माओवादीको एकता हुने भयो, यस्तो छ एकताको मोडालिटी


 


काठमाडौं, पुस १३
वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन प्याकेजमै टुंग्याउने समझदारी गरेका छन् ।

पार्टी एकताबारे संशय उत्पन्न गराउने गरी अनावश्यक भ्रम फैलाइएको निष्कर्ष निकाल्दै ओली र प्रचण्डले बुधबार एकता र सरकार गठन प्रक्रिया सँगसँगै टुंग्याउने समझदारी गरेका हुन् ।

एकता र सरकार गठन एउटै प्याकेजमा टुंग्याउने विभिन्न ‘मोडालिटी’का छलफललाई निरन्तरता दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई मार्गप्रशस्तका लागि दबाब दिनुपर्ने दुवै नेताको निष्कर्ष छ ।

देउवाकै कारण नयाँ सरकार गठनलगायत प्रक्रिया अड्किएको भन्दै मार्गप्रशस्तका लागि विलम्ब नगर्न पुनः ध्यानाकर्षण गराउने उनीहरूको तयारी छ ।

दुई नेताबीच ओलीनिवास बालकोटमा सवा घन्टा छलफल भएको थियो । प्रचण्ड गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा व्यस्त भएपछि गत बिहीबारयता दुई नेताबीच संवाद हुन सकेको थिएन ।

लामो समय संवाद नहुँदा दुई पार्टीकै नेताहरूले संशय पैदा हुने गरी अभिव्यक्ति दिन थालिरहेका वेला भेटवार्तामार्फत उनीहरूले तत्काल एकता प्रक्रिया र सरकार गठनलाई एकता संयोजन समितिमार्फत टुंग्याउने सन्देश दिएका छन् ।

‘दुवै अध्यक्षलाई तपाईंहरूले नै सल्लाह गर्नुस्, छलफल गरेर पहिला टुंग्याउनुस् भनेर जिम्मेवारी दिइएकाले उहाँहरूले नै सबै वर्कआउट गरिरहनुभएको छ,’ एमाले नेता सुवास नेम्वाङले भने, ‘अहिले उहाँहरूले नै वान अन वान गृहकार्य गरिराख्नुभएका कारण के भइरहेको छ थाहा हुने कुरा भएन । तर, सबै कुरा एकता संयोजन समितिमा छलफल हुनेछ ।’

प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाका अनुसार भेटमा नयाँ जनादेशपछि वर्तमान सरकारले नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

‘पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि गृहकार्यस्वरूप दुई अध्यक्षले कुराकानी गर्नुभएको हो,’ उनले भने, ‘ओली र प्रचण्डबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ ।’

प्रधानमन्त्रीले तत्काल मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार दुई प्रमुख नेताबीच पार्टी एकतातर्फ दृढतापूर्वक अघि बढ्ने र सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने समझदारी भएको छ ।

निर्वाचनबाट प्राप्त ताजा जनादेशविपरीत कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकार गठन प्रक्रियामा अवरोधक बनिरहेको निष्कर्ष निकाल्दै ओली र प्रचण्डले मार्गप्रशस्त गर्न आग्रह गर्ने समझदारी गरेका हुन् ।

आयोगले छिटो परिणाम दिनुपर्छ

निर्वाचन आयोगले संवैधानिक जिम्मेवारीभित्र रहेर प्रतिनिधिसभाको समानुपातिकतर्फ छिटो परिणाम सार्वजनिक गर्नुपर्ने उनीहरूको मत छ ।  त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न सहज वातावरण निर्माण हुने दुवै नेताको निष्कर्ष छ ।

त्यस्तै, सहमतिविपरीतको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश फिर्ता गरेर सहमतिका लागि सरकारले वातावरण निर्माण गर्नुपर्नेमा दुवै नेताले जोड दिएको ओलीका प्रेस संयोजक अधिकारीले बताए ।

तीन दिनभित्र एकता समितिको बैठक

एकता प्रक्रिया र सरकार गठन एकैपटक टुंग्याउने गरी छलफल गर्न तीन दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बोलाउने समझदारी गरेका छन् ।

‘उहाँहरूबीच तीन दिनभित्र संयोजन समितिको बैठक बोलाउने समझदारी भएको छ,’ नेम्वाङले भने । समितिको बैठकमा एकताको मोडालिटी प्रस्तुत गर्ने गरी दुई नेताले गृहकार्य गरिरहेका छन् ।

त्यस्तै, दोस्रो तहका नेताहरू प्रदीप ज्ञवाली, जनार्दन शर्मालगायतले एकीकरणका लागि तयारी समिति, सांगठनिक एकताको मोडालिटीलगायतमा अनौपचारिक गृहकार्य जारी राखेका छन् ।

आयोगको परिणामसँगै एकता संयोजनमा छलफल

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम बिहीबारदेखि शुक्रबार मध्याह्नसम्म सार्वजनिक गर्ने गरी तयारी गरिरहेको नेताहरूको भनाइ छ ।

आयोगले सिट संख्याबारे दलहरूलाई पत्र लेख्नेबित्तिकै एकता र सरकार गठन टुंग्याउने गरी समितिमा औपचारिक छलफल अघि बढाउने नेताहरूको समझदारी छ ।

पाँच विषयमा छलफल

ओली र प्रचण्डबीच मूलतः पाँच विषयमा छलफल भएको छ । दुई नेताबीच पार्टी एकताबारे बाहिर गरिएका आशंका, नयाँ सरकार गठन, निर्वाचन आयोगको जिम्मेवारी, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश र पार्टी एकता संयोजन समितिको बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

ओलीको फोनपछि प्रचण्ड बालकोटमा

बुधबारको भेटवार्ता तय भए पनि समय र स्थान तोकिएको थिएन । बिहान प्रचण्ड पार्टीकै आन्तरिक भेटघाटमा व्यस्त रहे भने ओली पनि बिसन्चोका कारण निवासमै थिए ।

ओलीले आफूलाई बिसन्चो भएको सन्देशसहित प्रचण्डलाई टेलिफोनमार्फत भेटका लागि बालकोट बोलाए । ‘भेटको समय तय नभईकनै बाहिर अड्कालबाजीका सन्देशहरू आइरहेका छन्, त्यसैले कुराकानी गरेर प्रक्रिया छिटो टुंग्याउनुपर्ने भयो,’ प्रचण्डसँगको टेलिफोन संवाद उद्धृत गर्दै ओलीनिकट स्रोतले भन्यो, ‘मलाई आज त्यति सन्चो छैन, तपाईं यहीँ आउनुस्, केही कुराकानी गर्नुपर्ने भो ।’

यस्तो छ एकताको मोडालिटी

पार्टीमा दुवै प्रमुखको हैसियतमा रहने गरी एकताको मोडालिटीमा करिब–करिब सहमत भइसकेको स्रोतले जनाएको छ ।

ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व पाउने गरी नै दुई नेताबीच करिब–करिब समझदारी भइसकेको स्रोतको दाबी छ ।

त्यस निम्ति अध्यक्ष र सहअध्यक्ष पद रहने कि, दुई वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन हुने गरी तयारी समिति बनाएर जाने भन्ने विकल्पमा छलफल केन्द्रित रहेको छ ।

‘मूल कुरा एकताको स्पिरिटअनुसार नै प्रचण्डलाई कार्यकारी भूमिका दिने गरी नै करिब–करिब समझदारी भइसकेको छ ।

नयाँ सरकार गठनलाई ढिलाइ गरेर अड्काउने खेल भएकाले मात्रै संयोजन समितिको बैठक बस्न पनि ढिलाइ भइरहेको हो,’ एमालेका एक उच्च नेताले भने ।

ओली पनि पार्टी प्रमुख रहने, तर सरकारको नेतृत्व गर्दा ‘सेरेमोनियल’ भूमिका हुने भएकाले प्रचण्डले कार्यकारी भूमिकामा पार्टीको नेतृत्व गर्न पाउने गरी नै कुराकानी भइरहेको स्रोतको भनाइ छ ।

दुवै पार्टीका केन्द्रीय समिति एकीकृत गर्दा ६०(४० कै अनुपातलाई विशेष जोड दिइएको छ । यस्तो अवस्थामा नेताहरूको एक तह घटुवा हुने निश्चित छ । तर, माओवादीको केन्द्रीय समिति जम्बो भएकाले व्यवस्थापनका लागि चुनौती देखिएको छ ।

सरकारको नेतृत्व आलोपालो गर्ने कि नगर्ने भन्ने विषयलाई भने दुवै नेताले ‘जेन्टलमेन एग्रिमेन्ट’मै सीमित गर्ने गरी छलफल चलाइरहेको स्रोतको भनाइ छ ।

यद्यपि, केही दिनअघि प्रचण्डले सरकारको नेतृत्व पनि आलोपालो प्रणालीबाट गर्ने गरी समझदारी भएको भने पनि भोलिपल्टै त्यसको खण्डन गरेका थिए । नयाँ पत्रिका दैनिक

प्रकाशित मिति: १३ पुस २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्