भीमफेदीमा सुमो दुर्घटना, दुईजना गम्भीर घाइते


 


हेटौँडा, पुस १२
हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना१च १९३९ नंको टाटासुमो आज बिहान दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने अन्य छजना सामान्य छन् ।

भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो । चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताउनुभयो ।

काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना हुनगएको सुमोमा सवार विदुर धिमालले बताउनुभयो । सुमोमा आठजना यात्रु रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्