रोल्पामा जातीय सद्भावका लागि सडक नाटक


 


रोल्पा, पुस १२
विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।

मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा फरकफरक समुदाय र जातजातिका संस्कारको अपमान गर्दा समाजिक सम्बन्ध बिग्रनुका साथै द्वन्द्वसमेत निम्तने भएकाले सबैको संस्कारलाई सम्मान गर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाका खेमबहादुर बुढामगरले जानकारी दिनुभयो । नाटकमा कलाकारले मगर, गुरुङ, ठकुरी तथा खस आर्य जातिको सांस्कृतिक झलकसहित नृत्यसमेत प्रस्तुत गरेका थिए ।

मुलुकमा जातजाति, भाषा, धर्म र भौगोलिकताका आधारमा विभेद आउन नहुने भन्दै सबै समुदायका बीच प्रगाढ सम्बन्ध बनाउने सन्देश प्रस्तुत भएको थियो ।

पैतालिस प्रतिशतभन्दा बढी जनजाति समुदायको बाहुल्यता रहेको रोल्पामा खस क्षेत्रीको संख्या छत्तीस प्रतिशत रहेको छ । जिल्लामा करिब १५ प्रतिशत दलितको बसोबास रहेको छ ।

संघीयता कार्यान्वयनसँगै जातजाति, भाषा, धर्म र भूगोलका नाममा भविष्यमा हुनसक्ने सम्भावित द्वन्द्वलाई यस्ता कार्यक्रमले न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १२ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्