समानुपातिकतर्फ माओवादीबाट सांसद बन्ने यी हुन् १७ जना (सूचीसहित)


 


काठमाडौं, पुस १२
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट पाउने भएको छ ।

प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ ।

एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रेस दोस्रो ठूलो दल भएको छ ।

माओवादीले केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिलाका लागि छुट्याउनु पर्ने भएको छ ।

दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्युनतम १८ जना महिला हुनैपर्छ ।

प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेकाले अब माओवादीले समानुपातिकको १७ जनामध्ये १५ जना महिला पठाउनुपर्छ ।

माओवादीका पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट चुनाव जित्नुभएको छ ।

दुई पुरुष १५ महिला

माओवादीले समानुपातिकबाट निर्वाचित गर्न पाउने दुई पुरुषमा सातवटा क्लस्टरको पहिलो नम्बरमा रहेकामध्येबाट छनौट गर्नुपर्छ ।

जसमा खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् ।

दुई पुरुषमध्ये एक हितराज पाण्डे सांसद बन्ने निश्चित छ भने अर्को एक जना बाँकी ६ जना मध्येबाट कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ ।

आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नुहुनुेछ ।

त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ ।
त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ ।

जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनुभएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट हुनेछन् ।

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटा बाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । दुई कोटाबाट एक/एक जना निर्वाचित गर्दा जम्मा संख्या भन्दा पनि धेरै हुने भएकाले निर्वाचन आयोगले यस्तो अवस्थामा थारु वा मुस्लिममध्ये एउटा कोटाबाट मात्र एक जना छनोट गर्न पाउने भएको हो ।

थारु कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्नेछन्। त्यस्तै माओवादीको पीछडिएको क्षेत्रबाट बन्द सूचिभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ ।

प्रकाशित मिति: १२ पुस २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्