पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेशमा रोक
काठमाडौ, पुस ११
तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ ।
आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली) देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो ।
चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो । जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ ।
कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छ्रैन ।
काठमाडौँ महानगरपालिकास्थित वडा नं ८ गौशालामा बस्ने स्थानीय सुनील वैद्य सवारीसाधन निषेधित क्षेत्र घोषणा गरेर स्थानीयलाई समस्या परेको बताउनुभयो । “हामी यहिँ क्षेत्रका बासिन्दा हौँ, हामी जतिखेर पनि साधनमा आऊजाऊ गर्नुपर्ने हुन्छ, हामीलाई समस्या परेको छ”- उहाँले भन्नुभयो ।
मन्दिरमा लामो समयदेखि पूजा गर्दै आउनुभएका बेदप्रसाद दुलालले सवारीसाधनको प्रवेश रोकिएसँगै पूजालगायतका सामग्री भित्र लैजान अप्ठ्यारो पर्ने बताउनुभयो । वनकाली चौरबाट पशुपतिनाथको मन्दिरको दूरी ४०० मिटर टाढा छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले तीर्थयात्रीलाई आवागमन गर्न सहज होस् भन्ने उद्देश्यले कोषले महाशाखासँग छलफल गरेर सवारीसाधन प्रवेश निषेध क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।
“वार्षिक ९० लाखदेखि रु एक करोडको हाराहारीमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी तीर्थयात्रीले सहजरुपमा दर्शन गरुन् भन्ने उद्देश्य कोषको हो यसका लागि सवारी साधन निषेधित क्षेत्र बनाउन लागेका हौँ”- उहाँले भन्नुभयो ।
कोषका सदस्य–सचिव डा ढकालले पशुपति क्षेत्रभित्र घर भएका व्यक्तिलाई भने सवारी पासको व्यवस्था गरिएको जानकारी दिनुभयो । “अब मृतक र मलामीलाई चार शिवालयबाट नै वाग्मती नदीमा दाहसंस्कारका लागि लैजाने व्यवस्था मिलाउन लागेका छौँ”- उहाँले भन्नुभयो ।
पशुपति क्षेत्रभित्र सवारीसाधन प्रवेशमा रोक लगाउनका लागि महाशाखाले १८ र कोषले १५ सुरक्षाकर्मी खटाएको छ ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पवित्र उद्देश्यले पशुपतिनाथको दर्शन गर्न आउने स्वदेशी तथा विदेशी तीर्थयात्रु सहजरुपमा दर्शन गरेर फर्किने वातावरण प्रदान गर्नका लागि उक्त अभियान शुरु गरिएको उल्लेख गर्नुभयो ।
“ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका रुपमा रहेको हाम्रो सम्पत्तिको संरक्षण गरी धेरैभन्दा धेरै तीर्थयात्रु भित्र्याउने लक्ष्यअनुसार हामीले सवारी साधनलाई व्यवस्थित गर्न लागेका हौँ”- उहाँले भन्नुभयो ।
ट्राफिक व्यवस्थापन सहज भएपछि तीर्थयात्रीको आवागमनमा समेत सहज हुने महाशाखाले विश्वास लिएको छ
प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार