काँग्रेस नेता निधि र चिनियाँ उद्योगीबीच भेटवार्ता


 


काठमाडौँ, पुस ११

पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको ‘युरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि’को प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।

इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालमा लगानीको क्षेत्र पहिचान गरी लगानी गर्न तयार रहेको र नेपालसँगको व्यापारका बारेमा कुराकानी गरेको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

नेता निधिसँगको भेटमा प्रतिनिधिमण्डलले नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भावना रहेकाले त्यसमा सहकार्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए ।

सो अवसरमा नेता निधिले व्यापार व्यवसायका माध्यमबाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने र नेपाल–चीन व्यापारको प्रमुख मार्ग तातोपानी नाका चाँडो खुलाउनका लागि पहल गर्न ध्यानाकर्षण गराउनुभयो । नेता निधिले आफू सरकारमा भएका बेला नेपाल भ्रमणमा आएका चिनियाँ प्रतिनिधिमण्डलसँग पनि व्यापार बिस्तारका लागि तातोपानी नाका सञ्चालनमा ल्याउन जोड दिएको उल्लेख गर्नुभएको थियो ।

प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्