भैरहवा ग्ल्याडियटर्सद्धारा चितवन टाइगर्स पराजित
काठमाडौँ, ११ पुस
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो । सो जीतसँगै भैरहवा लिग चरणको एक खेलअगावै प्ले अफ चरणमा प्रवेश गरेको छ । सो हारसँगै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले भैरहवालाई ८८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
भैरहवाका लागि पुनित मेहराले सर्वाधिक ३० रन जोडे भने रोहितकुमार पौडेल २०, भूपेन्द्र थापा १३, कृष्ण कार्की ९ तथा कप्तान शरद् भेषवाकरले ८ रन जोडे । चितवनका दीपेन्द्रसिंह ऐरी र शाहव आलमले २-२ विकेट लिए भने कमलसिंह ऐरी र प्रवीण गुप्ताले १-१ विकेट झारे ।
पहिले ब्याटिङ गरेको चितवनले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो जुन प्रतियोगिताको सबैभन्दा सानो स्कोर हो । कप्तान दीपेन्द्र र योगेन्द्रसिंह कार्कीले १५-१५ रन जोडे भने ललितसिंह भण्डारीले १३, आकाश थापा १०, प्रवीण ८ र दिलीप नाथले ४ रन जोडे ।
भैरहवाका लागि शरद एक्लैले ३ विकेट लिए भने भुवन कार्की र हरिशंकर शाहले २-२ विकेट लिए । त्यस्तै कृष्ण कार्की र पुनितले १-१ विकेट झारे ।
प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार