आखिर प्रचण्ड काठमाडौंमा किन छैनन्, के हुँदैछ पार्टी एकता ?


 


चितवन, पुस ११

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताउनुभएको छ ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले यहाँ आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताउनुभयो ।

नेता दाहालले भन्नुभयो, “म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन् ।

यसमा द्विविधा नहुनुहोस् । अब पार्टी एकता हुन्छ ।” दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उहाँले स्पष्ट पार्नुभयो ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको भौतिक सम्पत्तिका विषयमा भएको विवाद आफूले सल्टाउने प्रयास गर्दै आएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुछ । ”

सो अवसरमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णभक्त पोख्रेलले सो विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो भने विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो

प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्