दुई साताभित्र नयाँ सरकार बन्छ : नेता राई
काठमाडौँ, पुस १०
नेकपा (एमाले)का नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताउनुभएको हो ।
“राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको छ, राजनीतिक सहमतिमा अध्यादेश टुङ्गो लगाउनुपर्छ”, उहाँले भन्नुभयो । राष्ट्रियसभा गठन अध्यादेशबारे पार्टीभित्र भएको सहमति काँग्रेसले तोडेको उहाँको भनाइ थियो ।
नेता राईले मुलुकलाई स्थिर, सुशासन र शान्तिको बाटोमा लैजान जनताले वाम गठबन्धनलाई बहुमत दिएको भन्दै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने स्पष्ट पार्नुभयो ।
पूर्वमन्त्री राईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल अगाडि बढिसकेको भन्दै पार्टी नेतृत्व कसले गर्ने भन्नेबारे समझदारीमा निर्धारण हुने स्पष्ट पार्नुभयो ।
प्रदेश नं १ को मुख्यमन्त्रीका रुपमा समेत हेरिनुभएका नेता राईले उक्त प्रदेशमा भएका प्राकृतिक सम्पदाको प्रयोग गरेर नमूना प्रदेश बनाउने बताउनुभयो । “प्रदेश नं १ को विकासका लागि मैले गुरुयोजनासमेत बनाइसकेको छु”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति: १० पुस २०७४, सोमबार