एकीकृत दलित आन्दोलनको आवश्यकतामा जोड


 


काठमाडौँ, पुस १०
प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत दलित आन्दोलनको आवश्यकता औँल्याइएको छ ।

समता फाउण्डेशन र जागरण मिडिया सेन्टरलगायतका दलित संघसंस्थाद्वारा आज आयोजित ‘दलित नागरिक समाज र आगामी कार्ययोजना’ विषयक अन्तक्र्रियामा दलित नागरिक समाजका अगुवाले अधिकार प्राप्तिका लागि दलित संघंसंस्था, राजनीतिक भ्रातृ संगठन र सरोकार राख्ने संघसंस्थाले संयुक्तरूपमा संघर्ष गर्नुपर्नेमा जोड दिएका हुन् ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले करिब ७० वर्ष पुरानो दलित आन्दोलनबाट प्राप्त अधिकारलाई जोगाउँदै थप अधिकारका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कूल जनसंख्याको करिब १३ प्रतिशत दलित समुदाय सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिकलगायत राज्यको मूलधारबाट पछाडि पारिँदै आएको छ ।

समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले अबको दलित आन्दोलन संविधान संशोधन गरी दलित समुदायको प्रतिनिधित्व बढाउनेतर्फ केन्द्रित हुनुपर्छ भन्नुभयो । प्रतिनिधिसभामा दलित समुदायबाट प्रत्यक्षतर्फ तीनजना सांसद निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब १४ जना सांसद निर्वाचित हुनुभएको छ । त्यसैगरी राष्ट्रियसभातर्फ दलित समुदायबाट करिब सातजनाको सम्भावना रहेको सो अवसरमा जानकारी दिइयो ।

दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपाली, दलित अधिकारकर्मी मोतीलाल नेपाली, भक्त विश्वकर्मा, गणेश विके, सीताराम घले परियार र भद्रमान मोतेलगायतले दलित आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: १० पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्