विराटनगर समूह विजेता बन्दै क्वालिफायरमा, काठमाडौं बाहिरियो


 


काठमाडौं, पुस १०
एभरेष्ट प्रिमियर लिगमा विराटनगरको अपराजित यात्रा कायम राख्दै समूह बिजेता बनेको छ। जितसँगै विराटनगर क्वालिफायरमा पुगेको छ । क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ । पराजित भएमा पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

यता चार खेलमा पराजित भएको काठमाडौं भने बाहिरिएको छ। समूह चरणका सबै खेल सकिएपछि २ अंक जोडेर पाँचौ स्थानमै सिमित बनेपछि काठमाडौं बाहिरिएको हो।

सोमबारको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किङसलाई ८ रनले हराउँदै सतप्रतिशत जित समूह बिजेता बनेको हो।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो।

विराटनगरका लागि विदेशी खेलाडी अंशुमान राथ र बाबर हायातले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । अंशुमानले ३२ रन बनाउदा बाबर हायातले ६७ रनमा आउट भए। यस्तै कप्तान पारस खडकाले २६ रन थपेका थिए।

बलिङ काठमाडौंका सोमपाल कामी र अमरसिंह रौतेलाले दुई-दुई विकेट लिएका थिए।

१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो।

उसका लागि फारवेज मुसरफले सर्वाधिक ४२ रन बनाए । नरेश बुढाऐर ३० तथा सागर पुन १३ रन बनाउनुबाहेक अरूले खुलेर खेल्न सकेनन्।

विराटनगरका लागि अंशुमान रथले ३ तथ बसन्त रेग्मीले २ विकेट लिए। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे।

यो खेलसँगै विराटनगरको ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा कायमै छ भने पराजित काठमाडौं ५ खेलबाट २ अंक लिएको छ।

प्रकाशित मिति: १० पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्